• अवसर, रोजगार, विज्ञान/प्रविधि, शिक्षा तथा संस्कृति

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

     21 Views
    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले उक्त एक दिने कार्यक्रम मार्फत १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागिएको बताए ।

    डा. ज्ञवालीले युवायुवतीलाई उच्च शिक्षा तथा रोजगारका लागि अन्य मुलुक जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गर्न तथा देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसरहरु सिर्जना गरी देश सेवामा अभिप्रेरित गर्नपनि यस कार्यक्रमले ठूलो योगदान तथा भूमिका खेल्ने विश्वास दिलाए । कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’ भन्ने शीर्षकमा लेक्चर दिनेछन् । नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनेछन् ।

    त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले ‘नेश्नल युनिटी थ्रु स्पोर्टस्’ शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । युट्यवर सिसम बानियाँले ‘प्यासन टु प्रोफेशनः थिङकिङ आउट अफ द बक्स’ शीर्षकमा प्रवचन दिनेछन् । मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रमोटिङ टुरिज्म’ शीर्षकमा प्रवचन दिने जनाइएको छ । त्यसै गरी सफल व्यवसायी सौरभ ज्योतिले ‘दि बिजनेश ईनभाईरोमेन्ट ईन नेपाल ः च्यालेन्ज एण्ड अपरचुनिटिज र द रोल अफ युथ ईन बिजनेश वल्र्ड’ शीर्षकमा प्रवचन दिनेछन् । त्यस्तै चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले स्ट्याण्डिङ आउट विथिन मास’ नामक शीर्षकमा प्रवचन दिने आयोजकले जनाए ।

    युथ कनक्लेभमा १८–२० वर्ष उमेर समूहका करिब ३ हजार युवायुवतीको सहभागिता हुने अपेक्षा गरिएको छ । कार्यक्रमलाई आकर्षक बनाउन स्वप्न सुमनका सांगितिक प्रस्तुति रहने र कमेडियन सन्दिप क्षेत्रीको प्रहसन, सुशान्त खत्रीको नृत्यलगायतका विभिन्न खानाका स्टलहरु, खेलहरु तथा विद्यार्थीको रोचक प्रस्तुति पनि रहने जानकारी दिईयो । पत्रकार सम्मेलनमा काठमाडौं मोडेल हाईस्कुल, बागबजारका प्राचार्य डा. नागेन्द्र अर्याल, काठमाडौं मोडेल कलेज, बालकुमारीका प्राचार्य सुरेन्द्र सुवेदी, न्यू समिट कलेजका प्रोगाम डाईरेक्टर चोकराज दवाडी, युनिभर्सल कलेजका प्रोगाम डाईरेक्टर राजु टण्डन, अपोलो ईन्टरनेश्नल कलेजका कोअर्डिनेटर शिशिर ढकालको समेत सहभागिता रहेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment