• ताजा समाचार, शिक्षा तथा संस्कृति

    एसइई परीक्षा आजदेखि शुरु

     32 Views
    एसइई परीक्षा आजदेखि शुरु

    चैत १०, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भयो। बिहान ८ बजेदेखि संचालन भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ । केही सेलिब्रेटी कलाकारदेखि राजनीतिमा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ ।

    सिने जगतकी अब्बल नायिका करिश्मा मानन्धर चर्चित नायिका हुन् । पछिल्लो समय उनको परिचयमा राजनीतिज्ञको पहिचान पनि थपिएको छ । उनै नायिका करिश्मालाई पनि एसईई पास गरेर उच्च शिक्षा अध्ययन गर्ने रहर बढेको देखिन्छ ।

    कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल नेकपा सचेतक शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् ।संयोग कस्तो भने उनकै छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंबाट परीक्षा दिइरहेकी छन् ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

    यसमा तपाइको मत

    Facebook Comment