संसदीय छानबिनसम्बम्धी गठित कार्यदलको बैठक निष्कर्षविहिन, अर्काे बैठक भोली बस्ने

अनलाइनसमय |
११ जेठ २०८१
संसदीय छानबिनसम्बम्धी गठित कार्यदलको बैठक निष्कर्षविहिन, अर्काे बैठक भोली बस्ने

काठमाडौं, ११ जेठ, सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको शुक्रबार बसेको बैठक निष्कर्षविहिन बनेको छ । बैठक फेरि (भोली) शनिबार बस्ने भएको छ । कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् ।
कानुन मन्त्रालयमा बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको थियो ।

कांग्रेसको उक्त प्रस्तावमा आ–आफ्नो दलमा छलफल गर्नका लागि सत्ता पक्षले समय मागेको थियो । ‘कांग्रेस अलि लचक भए जस्तो मानेका छौं । गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कार्यदल सदस्य शिशिर खनालले भने ।

प्रमुख प्रतिपक्ष कांग्रेस सहित विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेका छन् । गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ । उक्त माग राख्दै कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।

२८ वैशाखदेखि बोलाइएको बजेट अधिवेशनको कार्यसूची प्रमुख प्रतिपक्षी दलहरूको संसदीय छानबिन समितिको मागले प्रभावित हुँदै आएको छ । शुक्रबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस