काठमाडौं, १७ जेठ । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो व्यक्त गरेको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताए ।
यस्तै सभापति खतिवडाले ट्राफिक स्वयम्सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी दिए । उनले भने, ‘मन्त्रीको निर्देशनमा ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा ल्याएर काम गराउनु मानव अधिकारको हनन गर्नु हो । यस्तो गर्न पाइँदैन । हामी छलफल गर्छौं ।’
खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताए ।
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।