काठमाडौं, २३ जेठ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बुधबार दिउँसो संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ ।
एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा गत जेठ १५ गते संसदीय छानबिन समिति बनेको छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।
‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।