प्रधानमन्त्री रोजगार कार्यक्रम पुनःसंरचना गरिँदै

अनलाइनसमय |
७ असार २०८१
प्रधानमन्त्री रोजगार कार्यक्रम पुनःसंरचना गरिँदै

काठमाडौं, ६ असार । आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्ने गरी आन्तरिक रोजगार प्रवर्धन महाशाखा गठन गरिने जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१र८२ देखि प्रधानमन्त्री रोगगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्नका लागि सो महाशाखा गठन गर्न लागेको हो ।

मन्त्रालयका अनुसार सो महाशाखामार्फत सामाजिक संरक्षण र रोजगारी सिर्जनाका लागि सञ्चालित यस कार्यक्रमलाई सिप विकास, उद्यमशीलता विकास, स्वरोजगार र उत्पादनसँग जोडिनेछ । साथै उक्त महाशाखाले आन्तरिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धित सरोकारवाला निकाय र जिम्मेवार संस्था वा पदाधिकारीसँग समन्वयात्मक कार्य पनि गर्नेछ । जसले गर्दा कार्यक्रम प्रभावकारी हुने दाबी मन्त्रालयको छ ।

श्रम मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले श्रम मन्त्रालयमार्फत विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी भइसकेको र यसको प्रभावकारी कार्यान्वयनमा लैजाने तयारीस्वरूप आन्तरिक रोजगार प्रवर्धन महाशाखा गठन गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रमलाई पुनर्संरचना गर्ने निर्देशिका गत वर्ष नै जारी भए पनि बजेट घटेकाले उक्त निर्देशिका कार्यान्वयनमा आउन सकेको थिएन । यो वर्ष भने यसलाई सुरुदेखि कार्यान्वयनमा जाने गरी तयारी भएको प्रवक्ता समेत रहेका रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस