लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्नेबारे उद्योगमन्त्री भण्डारीले गरे प्रमुख सचेतकहरुसँग छलफल

अनलाइनसमय |
१८ असार २०८१
लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्नेबारे उद्योगमन्त्री भण्डारीले गरे प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं, १७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी विधेयकका विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे मन्त्री भण्डारीले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा अज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र नेकपा माओवादी केन्द्र का हितराज पाण्डेसँग सहभागी थिए ।

छलफलमा मन्त्री भण्डारीले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न सहजीकरण गरिदिन प्रमुख सचेतकहरुसँग आग्रह गरे ।

लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनहरुलाई आग्रह गरे।

यस्तै कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने बताए ।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस