काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विपद् व्यवस्थापनका लागि गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले तयारीका लागि निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको तयारी व्यवस्थित गर्न निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित तयारी गरौं । विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौं ।’
बैठकमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको तयारी र जोखिम पूर्वकार्यसम्बन्धी गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
्