अदालतको आदेशपछि महानगरले पुन: सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तारको काम

अनलाइनसमय |
२ साउन २०८१
अदालतको आदेशपछि महानगरले पुन: सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तारको काम

काठमाडौं, २ साउन । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

महानगरपालिकाले बुधबार बिहानैदेखि न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । उक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो । तर, सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन पुरेर कालोपत्रे गरेको थियो । यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस