जीबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी

अनलाइनसमय |
९ असोज २०८१
जीबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी

काठमाडौं, ९ असोज । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्षसमेत रहेका गीतेन्द्रबाबु (जीबी) राईसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएको भन्दै ४४६ जना बचतकर्ताले गरेको उजुरीका आधारमा प्रहरीकोे अनुसन्धानपश्चात् जिल्ला सरकारी वकिलको कार्यालय, चितवनले मुद्दा दर्ता गरेको हो । यी बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

यस्तै गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।

‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । प्रस्तुत मुद्दाको हदम्यादलाई समेत विचार गर्दा अहिलेकै अवस्थामा उल्लिखित कम्पनी र पदाधिकारीका सम्बन्धमा निर्णयमा पुग्न सकिने अवस्था नदेखिएकोे र थप अनुसन्धान गर्नुपर्ने देखिएकाले पुनः अनुसन्धान गरी पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएपश्चात् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग पेश गरिने बेहोरा सादर अनुरोध गरिन्छ ।’ अभियोगपत्रमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस