काठमाडौं, १३ असोज । नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतले बाढी पहिरो पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
साथै, बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको छ । बैठकको निर्णय सुनाउँदै प्रवक्ता महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको बताए ।
‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने छ । बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेका छौँ‚’ उनले भने ।