म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

अनलाइनसमय |
२३ मंसिर २०८१
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज फेरि अदालत उपस्थित गराएको छ । गत मंसिर ९ गते थपिएको १५ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । जिल्ला अदालत पर्साबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई बयानका लागि पर्सा लग्ने प्रहरीको तयारी छ ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस