काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेटवार्ता भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
विश्वविजेता कार्लोस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न मंगलबार काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन ओलीले आग्रह गरे ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
५२ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा कार्लोस् टिमका महत्त्वपूर्ण हिस्सा थिए ।
