काठमडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।
उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।
मैलै उहाँ मोदीसँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता दोहो¥याएँ । नेपाली नागरिकको मृत्युमा हार्दिक समवेदना व्यक्त गरेकोमा आभारी छु ।’
भारतको जम्मु–काश्मिर राज्यको पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने अर्की नेपाली महिला घाइते भएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाली महिला रेनु पाण्डे घाइते भएकी हुन् ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१४ रूपन्देहीका सुदीप न्यौपाने रहेका छन् । उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो । घटनास्थलमा फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा न्यौपानेको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
न्यौपाने शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–काश्मिर गएका थिए । सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् ।
घटनास्थल श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । सो आक्रमणमा हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहले उक्त हमलाको जिम्मेवारी लिएको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी यो घटनापछि साउदी अरबको भ्रमण छोट्याएर भारत फर्किसकेका छन्। घटनापछि भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएका छन् ।