‘पहिलोपटक आफैंले कमाएको पैसाले सामान किन्दा खुशी लाग्यो’

अनलाइनसमय |
१८ वैशाख २०८२
‘पहिलोपटक आफैंले कमाएको पैसाले सामान किन्दा खुशी लाग्यो’

कुल नारायण श्रेष्ठ,
काठमाडौं, १८ वैशाख । उनका लागि जीवन संघर्षको अर्को नाम हो । कहिल्यै हार नमान्ने उनको सोचाइले मात्र होइन, उनको अदम्य साहसले नै सफल बनायो । यदि उनले समयमै सही निर्णय नगरेकी भए, सायद उनको श्रीमान् आज विदेशी भूमिमा श्रम बेच्दै हुन्थे । अनि उनी आफ्नो गुजारा चलाउन कसैको काम गरिरहेकी हुन्थिन् । शायद उनका छोराछोरी विद्यालय जानुको सट्टा अरूको खेतबारीमा काम गर्दै हुन्थे ।

१३ वर्षको सानै उमेरमा बिहे गरेकी टुक कुमारी कार्कीले धेरै दुःख भोगिन् । उनको घर पर्सागढी–२ छ । घरको आर्थिक अवस्था नाजुक थियो । ‘घरखर्च चलाउन निकै गाह्रो हुन्थ्यो,’ उनले सम्झिइन्, ‘छोराछोरीलाई सरकारी विद्यालयमा पढाउँदा पनि कापी, किताब किनिदिने क्षमता थिएन ।’ आफन्त, घरछिमेकमा कसैले ऋण समेत पत्याउदैनथे । परिवारको अवस्था देखेर उनले श्रीमान् धन बहादुर कार्कीलाई विदेश पठाउने निर्णय गरिन् ।

आफूसँग भएको गरगहना बेच्दा ८ हजार रुपैयाँ मात्रै जम्मा भयो । ५ हजार पासपोर्टका लागि खर्च भयो, बाँकी काठमाडौं आउजाउमा । जसोतसो ऋण खोजेर मेनपावरमा १० हजार बुझाए, श्रीमान् मलेसिया जाने तय भयो । मलेसियाका लागि ७ सय र एक हजार रिङगेटको कोटा खुलेको रहेछ । उनी हजार रिङगेटमा जाने निर्णय गरे । तर शनिबार इन्टरभ्यु नहुने बहानामा आइतबार आउन भनियो । आइतबार पुग्दा कोटा सकिएको थियो । मेनपावरले ७ सयको कोटामा जानु भने । धन बहादुरले फोन गरेर श्रीमतीसँग सल्लाह लिए । श्रीमतीले दृढताका साथ भनिन्, ‘त्यसोभए नजानु, यहीँ केही गरौँला बरु गाउँ फर्किनुस् ।’ श्रीमान् गाउँ फर्किए ।

त्यही बेला गाउँका केही दिदीबहिनी सालको पात टिपेर बेच्ने गर्थे । टुक कुमारीको छोरीहरू पनि विद्यालय बिदाको अवसरमा बाख्रा चराउन जादा पात टिप्न थाले, तर विद्यालय नियमित चल्दा त्यो सम्भव भएन । टिपेको पात बेच्न नपाउदै यो काम रोकियो । टुक कुमारी आफैं पात टिप्न थालिन् । पात टिपेर खान नपुग्ने भन्दै श्रीमान्ले गाली गरे । छोराछोरीलाई भोकै राख्न नहुने उनले सोचिन् । यसका लागि केही त गर्नैपथ्र्यो ।


पात टिप्न जाने गाउँकै एक दिदीले उनलाई बिहानै पात टिप्न जान सल्लाह दिइन् । बिहान टिपेपछि दिनभरि अन्य काम गर्न सकिन्थ्यो । उनले यही उपाय अपनाइन् । ‘चार पत्ता पातलाई सिन्काले गाँसेर घाममा सुकाएर बेच्न लानुपथ्र्यो,’ उनले भनिन् ।

शुरूमा उनले पात बेचेर १२० रुपैयाँ कमाइन् । बेच्ने ठाउँ गाउँबाट केही टाढा भएकाले २० रुपैयाँ पात लगेको टायर भाडा दिइन् । बाँकी रहेको १०० रुपैयाँले तेल, मसला किनिन्, त्यति मात्र होइन, उनले नुहाउने सेम्पु र एक जोर चप्पल समेत किनिन् । ‘पहिलोपटक आफैंले कमाएको पैसाले सामान किन्दा गर्व लाग्यो,’ उनले हाँस्दै भनिन्, ‘त्यो दिन मैले महसुस गरें, म केही गर्न सक्छु ।’

पात बेचेर पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएपछि श्रीमान् धन बहादुर पनि खुशी भए । पात टिप्न बिहान जानु पर्दैन, अबदेखि दिउँसो जान श्रीमतीलाई सल्लाह दिए । दिनमा गर्ने अरु काम आफैँ गर्छुसम्म भने । बिस्तारै घरखर्च चलाउन सजिलो हुँदै गयो । पात टिपेर जिन्दगी चल्दैन भन्दै आफन्त र छिमेकीहरूले आलोचना गरे ।

तर टुक कुमारीले हिम्मत हारिनन् । उनी दुना टपरी बनाउन पनि सिक्न चाहन्थिन्, तर विक्रीस्थलका मालिकले सिकाएनन् । त्यहाँ काम गर्ने भाइले भने उनलाई मालिक नभएको मौकामा सिकाउथे, यसरी नै उनले टपरी बनाउन सिकिन् ।

एकदिन टुक कुमारीले छिमेकी गाउँमा लघुवित्त संस्था रहेको थाहा पाइन्, जसले महिलाहरूलाई तालिम र आवश्यक कर्जा दिन्थ्यो । उनले केही महिलाहरू भेला पारेर लघुवित्तबारे बुझिन् । त्यो छिमेक लघुवित्त संस्था रहेछ । ‘मेडमले पहिला समूह बनाउनु हामी तालिम दिन्छौँ भन्नुभयो,’ उनले सम्झिइन् ।

उनी र उनका साथी मिलेर ३२ जना जम्मा गरे । तालीम शुरू भयो तर तालीम सकिँदासम्म सबै महिला टिक्न सकेनन् । कसैको श्रीमान्ले जान दिएन, कोही आफै निस्किए । महिला लुट्न आएको, यसले फसाउछ जस्ता भ्रामक अफवाहका कारण १४ जना मात्र समूहमा बाँकी रहे । तर टुक कुमारी कसैको केही नसुनिकन समूहमा बसिन्, श्रीमान्ले पनि साथ दिए । सात दिने तालीम सकिदा थोरै सङख्या भएकाले समूह दर्ता गर्न मिलेन, जसोतसो मान्छे खोजेर दर्ता गरे ।

लघुवित्तबाट उनले १५ हजार ऋण पाइन्, त्यसपछि शुरू भयो उनको दुना टपरी व्यवसाय । अब पात टिप्नमा मात्रा सीमित रहिनन् उनी, आफैँ टपरी बनाएर बेच्न थालिन् । उनले टपरी बनाउने मेसिन किनिन् । समयमै किस्ता बुझाइन्, ऋण बढाउँदै ५० हजार, डेढ लाख हुँदै अहिले सात लाख पुर्‍याएकी छन् । सही सदुपयोग गरेपछि लघुवित्तले पनि विश्वास गर्‍यो ।

अहिले उनको दुना टपरी व्यवसाय काठमाडौंको असन, माखान, जितपुर, विरगंञ्ज बजारसम्म विस्तार भएको छ । उनले बनाएका धेरै जसो टपरी गाउँमै खपत हुन्छ । ग्राहकको मागअनुसार फरक साइज र डिजाइनका दुना टपरी बनाउँछिन् । लकडाउन पहिले महिनामा ३ लाखसम्म कमाइ हुने उनको व्यवसाय अहिले केही घटेको छ । तर अहिले पनि सिजन अनुसार दिनमा ६० हजारसम्म विक्री हुने गरेको उनले सुनाइन् । सिजन अनुसार गाउँका दिदीबहिनीलाई पनि रोजगारी दिएकी छन् । ‘केही संस्थामार्फत अरूलाई तालीम दिएकी छु,’ उनले भनिन् ।

उनीहरूले पहिले पातको मात्र टपरी बनाउथे भने अहिले प्लास्टिकको पनि बनाउन थालेका छन् । ‘कतिपय ग्राहक महँगो भयो भन्नुहुन्छ,’ उनले भनिन्, ‘आएको ग्राहक रित्तो हात नफिर्कियोस भनेर यसको पनि शुरू गरेँ ।’ यो मेसिन राखेको भने धेरै समय भएको छैन । पातको ४ रुपैयाँ र प्लास्टिकको २ रुपैयाँ पिस बेच्ने गरेका छन् । यो व्यवसायमा करेन्टको डर हुने उनी बताउछिन्, ‘मेसिनले झण्डै छोरा गुमाए, श्रीमान्को पनि हातमा ठूलो चोट लागेको छ ।’

श्रीमान्को साथ, सहयोग, आफ्नो आत्मविश्वास र छिमेक लघुवित्तबाट ऋण लिएर व्यवसाय गर्न सहज भएको टुक कुमारीले सुनाइन् । ‘ऋण दिएको १ महिनापछिबाट मात्र किस्ता तिर्ने व्यवस्था भयो भने अझै प्रभावकारी हुने थियो,’ उनले भनिन् । ऋण लिएपछि त्यसको सही सदुपयोग गर्ने, एउटा कामको लागि ल्याएको ऋण अन्त खर्च नगरे समयमै तिर्न सकिने उनको बुझाइ छ । ‘घाँटी हेरेर हाँड निल्नुपर्छ, थोरै लगानीलाई पनि निरन्तरता दिए सफल भइन्छ,’ उनले भनिन्, ‘पछि नहटि समस्यासँग जुध्न सक्नुपर्छ ।’


महिलालाई घरभित्र राखेर उनीहरूको वृद्धि विकास नहुने श्रीमान धन बहादुरले बताए । उनी भन्छन्, सफल र शिक्षित हुन बाहिरको वातावरण नै बुझ्नुपर्छ ।

दुना टपरी बेचेर फाइदा भएको पैसाले केही जग्गा जोडेका छन् । अझै केही गाई थप्ने र दुना टपरी व्यवसायलाई बढाउदै लैजाने कार्की दम्पतिको योजना छ । भविष्यमा आफ्ना पाँच जना छोरी र छोराको लागि छुट्टाछुट्टै जग्गा किनिदिने सोच बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस