काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाप्रति असन्तुष्टि जनाएका छन् । उनले परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु चिन्ताजनक भएको टिप्पणी गरेका हुन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्य कक्षा १० मै चट् बनाएको आरोप लगाए । ‘५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिली लिनुभएको छ, ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै, कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ,’ उनले भने, ‘मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ ।’
शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ‘हिजो एक जना शिक्षकले मलाई गाली गर्दै गरेको सुनेँ, किन गाली गरेको मैले बुझेको छैन, उहाँसँग न मेरो भेट भएको छ, उहाँले देख्या पनि छैन होला, तर गाली किन गर्या, कसले सिकायो कसले पढायो थाहा छैन,’ उनले भने, ‘फेसबुक मात्रै हेर्नुहुन्छ कि के हो ? उहाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो ।’