काठमाडौं, १९ वैशाख । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो दुःखद् घटनाको जानकारी पाए देखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ । ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ ।’
भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील भारतीय विदेश मन्त्रालयले बताएको छ । ‘यस विषयमा हामी नेपाली अधिकारी, ओडिशा राज्य सरकार तथा केआईआईटी व्यवस्थापनसँग नजिकको निरन्तर सम्पर्कमा छौं ।’
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । परीक्षा अवधिमा होस्टेल बस्दै आएकी उनको शव बिहीबार साँझ होस्टेल कोठामै फेला परेको थियो ।
उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको र घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ । ओडिसा राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषणसमेत शुरू भएको जनाइएको छ ।
यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा २० वषर्षिया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।
