निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दो, अर्थतन्त्रमा सुधारको संकेत (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१९ वैशाख २०८२
निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दो, अर्थतन्त्रमा सुधारको संकेत (भिडियो रिपोर्ट)

काठमाडौं, १९ वैशाख । लामो समयदेखि शिथिल नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । चैत मसान्तसम्ममा नेपालको आयात निर्यात दुवै बढेको छ भने निजीक्षेत्रमा जाने कर्जामा समेत बढोत्तरी भएको छ । आयात बढ्न थालेको राष्ट्र बैंककै तथ्यांकले पनि देखाएको छ । चालू आवको ८ महिनामा वस्तु आयात प्रयोजनको बैंकिङ कर्जा ५८ प्रतिशतले बढेको छ, जसमध्ये उद्योगतर्फ ७८ र व्यापारतर्फ २८ प्रतिशत वृद्धि भएको छ । समग्रमा निजीक्षेत्रमा जाने कर्जा ६ प्रतिशतले बढेको छ । जुन गतवर्षको तुलनामा २ प्रतिशत बिन्दुले बढी हो । यसले लगानीका लागि निजीक्षेत्र अग्रसर हुन थालेको इंगित गर्छ ।

गत आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा जाने कर्जा ४ दशमलव २ प्रतिशतले बढेको थियो । सो अवधिमा निजीक्षेत्रतर्फ १९९ अर्ब ५० करोड कर्जा प्रवाह भएकोमा यस वर्षको फागुनसम्ममा ३०४ अर्ब ८२ करोड कर्जा गएको हो । समीक्षा अवधिमा निजीक्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.३ प्रतिशत, विकास बैंकको ३.१ प्रतिशत र वित्त कम्पनीको ५.७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको फागुनसम्ममा कर्जाभन्दा निक्षेप परिचालन बढी भएकोमा समीक्षा अवधिमा भने निक्षेपको तुलनामा कर्जा १० प्रतिशतले बढेको छ । यद्यपि बैंकिङ प्रणालीमा अझै पनि अधिक तरलता अर्थात् लगानीयोग्य रकम छ । अधिक तरलताले ब्याजदर घट्दै गए पनि माग पक्ष कमजोर हुँदा निजीक्षेत्रले लगानी बढाउन सकेको छैन ।

सरकारले यस वर्ष आर्थिक वृद्धिमा लिएको ६ प्रतिशतको लक्ष्यलाई सघाउने गरी राष्ट्र बैंकले निजीक्षेत्रमा जाने कर्जा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । तर आठ महिनामा ६ प्रतिशत मात्र विस्तार भएकाले यस वर्ष लक्ष्यअनुसार कर्जा प्रवाह हुन कठिन छ ।

एकातिर बैंकहरूको कर्जा प्रवाह सुस्त छ भने गएको कर्जामा समेत समस्या हुँदा निष्क्रिय कर्जा बढ्दै गएको छ । समग्र अर्थतन्त्र नै शिथिल बन्दाको असर बैंकहरूको वित्तीय अवस्थामा समेत प्रतिबिम्बित भएको छ ।

त्यसो त, सुस्त अर्थतन्त्रको उत्थान र दोस्रो चरणको सुधारका लागि सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरको थियो । जसले निजीक्षेत्रको समेत सुझाव समेटेर अन्तिम प्रतिवेदन बुझाइसकेको छ । आयोगका सुझावलाई चरणबद्ध कार्यान्वयन गरे अर्थतन्त्रले सुधारको गति लिने निजीक्षेत्रको विश्वास छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप ६८ खर्ब ३६ अर्ब रहेको छ, जसमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ६१ खर्ब ३ अर्ब रहेको छ । यस्तै लगानीमा रहेको रकम भने ५५ खर्ब ८ अर्ब रहेको छ, जसको ८९ प्रतिशत हिस्सा वाणिज्य बैंकहरूको छ । नेपालको जीडीपीसँग तुलना गर्दा कुल निक्षेप करीब १२० (११९.८२) प्रतिशत र कर्जा परिचालन साढे ९६ (९६.५४) प्रतिशत रहेको छ ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्टः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस