काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पराजुलीले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष समेत रहेका राईलाई पक्राउ गरेर नेपाल कहिले ल्याइन्छ भन्दै प्रश्न गरेका हुन् ।
सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्तासमेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनले आरोप लगाए । ‘तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको १० महिना पूरा भइसक्यो, जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ?’ उनले प्रश्न गरे, ‘जनताले प्रश्न सोध्ने गरेका छन्, बाहिर आएअनुसार १६ अर्बमध्ये सात अर्बमात्र जीबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । नौ अर्बको भागेदार कोको हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जीबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो ?’