काठमाडौं, २३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा रहेका र स्वेच्छाले आफ्नो देश फर्कने आप्रवासीहरूलाई एक हजार डलर दिने भएको छ । ट्रम्पको सामूहिक निर्वासन एजेन्डालाई अगाडि बढाउँदै सोमबार गृह सुरक्षा विभागले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो ।
‘सीबिपि होम’ नामक नामक एपमार्फत स्वदेश फर्कने योजना सरकारलाई जानकारी गराउने व्यक्तिहरूलाई नजरबन्द र अध्यागमनबाट जबरजस्ती पठाउने सूचीबाट उनीहरूको नाम हटाइने बताइएको छ ।
‘यदि तपाईं यहाँ अवैध रूपमा हुनुहुन्छ भने, गिरफ्तारीबाट बच्नको लागि स्व–निर्वासन संयुक्त राज्य अमेरिका छोड्ने सबैभन्दा राम्रो, सुरक्षित र सबैभन्दा लागत–प्रभावी तरिका हो,’ सचिव क्रिस्टी नोएमले भनिन्, ‘डीएचएसले अब सीबिपि एप मार्फत अवैध आप्रवासीहरूलाई आर्थिक यात्रा सहायता र आफ्नो देश फर्कन भत्ता प्रदान गर्दैछ ।
विभागले शिकागोबाट होन्डुरस फर्कन एक आप्रवासीको लागि पहिले नै विमान टिकटको भुक्तानी गरिसकेको र यस हप्ता र अर्को हप्ताको लागि थप टिकट बुक गरिएको बताएको छ । एपी