नेपालमा वृद्ध जनसङ्ख्या तीन गुणा बढ्यो, वि.सं २१११ सम्ममा बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान

अनलाइनसमय |
२३ वैशाख २०८२
नेपालमा वृद्ध जनसङ्ख्या तीन गुणा बढ्यो, वि.सं २१११ सम्ममा बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान

काठमाडौं, २३ वैशाख । नेपालको करिब ८० प्रतिशत जनसङ्ख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ ।

सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा बुढ्यौलीको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष उमेरसम्ममा ८४ दशमलव ७ प्रतिशत महिला र ७५ दशमलव १ प्रतिशत पुरुष बाँच्नसक्ने देखिएको जनाएको छ ।

हिमाली प्रदेशका मानिसहरूको अधिकतम बाँच्न सक्ने दर ८०.६ प्रतिशत छ जसमा पुरुषहरूको मान ७७० प्रतिशत र महिलाहरूको मान ८४.३ प्रतिशत रहेको देखिन्छ । तीनओटै भौगोलिक क्षेत्रलाई तुलना गर्दा पहाडमा ६० वर्षभन्दा बढी बाँच्न सक्ने दर ८१.२ प्रतिशत रहेको छ भने तराईमा यो दर सबैभन्दा न्यून अर्थात् ७९० प्रतिशत छ । प्रदेशस्तरमा हेर्दा बागमतीमा बढी बाँच्ने दर सर्वाधिक ८२.६ प्रतिशत छ । लुम्बिनी प्रदेशमा भने यस्तो दर न्यून ७६.८ प्रतिशत रहेको छ ।

जन्मदर र मृत्युदर घटिरहेको अवस्था सँगसँगै नेपालको जनसङ्ख्या पनि संक्रमणकालतर्फ तीव्र गतिले प्रवेश गरिरहेको छ । ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या वि. सं. २०६८ को ८.१ प्रतिशतबाट २०७८ मा १०.२ प्रतिशतमा बढेको छ ।

जसले वि. सं. २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अपेक्षा गरिएको छ । यसले स्वभावतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौतीको सिर्जना गर्नेछ ।

नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या वि.सं. २०४८ देखि लगभग तीनगुणा बढेको छ । जनसङ्ख्या पिरामिडले युबाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ । यसका पछाडि मुख्यतया जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको छ ।

बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको छ जसले आश्रित जनसङख्याको अनुपातलाई अझै वृद्धि गरेको छ । भौगोलिक क्षेत्र र प्रदेश तहमा पनि वृद्ध जनसङ्ख्याको वितरणमा वि.सं. २०६८ र २०७८ को जनगणनाले केही भिन्नताहरू देखाएका छन् ।

पहाडी क्षेत्रको बुढ्यौली जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । वि.सं. २०६८ मा बुढ्यौली जनसङ्ख्या पहाडमा २५.७ प्रतिशत रहेकोमा १० वर्षपछि अर्थात् वि.सं. २०७८ मा ४३.६ प्रतिशत पुगेको छ । यो प्रवृत्तिलाई हिमाली र तराई क्षेत्रले पनि निकटतम दरका साथ पछ्याएको देखिन्छ । तथापि, तराईको तुलनामा पहाड र हिमाली क्षेत्रले बुढ्यौली जनसङ्ख्याको तीव्रतर वृद्धि दरलाई प्रस्तुत गरेका छन् ।

प्रदेश तहमा तुलना गर्दा पनि भिन्नता विद्यमान रहेको देखिन्छ । बागमती प्रदेशमा बुढ्यौली जनसङ्ख्या सर्वाधिक रहेको छ । सहरी क्षेत्रले विशेषतः युवा पिँढीका जनसङ्ख्यालाई बसाइँसराइको लागि आकर्षित गर्दछ जसले गर्दा ग्रामीण क्षेत्रको तुलनामा बुढ्यौली जनसङ्ख्या सहरमा कम अनुपातमा रहेको देखिन्छ । यति हुँदाहुँदै पनि बुढ्यौली सूचकाइ वि.सं. २०६८ देखि २०७८ मा करिब १३ प्रतिशत बिन्दुले ग्रामीण र सहरी क्षेत्र दुवैतर्फ वृद्धि भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस