काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट आइतबार पक्राउ गरेको हो ।
उनीमाथि क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको आरोप छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।