एक व्यक्ति–धेरै बैंक खाता : फाइदा मात्र कि व्यवस्थापनको झन्झट पनि ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२६ वैशाख २०८२
एक व्यक्ति–धेरै बैंक खाता : फाइदा मात्र कि व्यवस्थापनको झन्झट पनि ? (भिडियो रिपोर्ट)

काठमाडौं, २६ वैशाख । नेपालका बैंक तथा वित्तीय संस्थामा पछिल्लो ५ वर्षमा बचत खाता दुई गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कायम कुल बचत खाता नेपालको जनसंख्याको करीब दोब्बर पुगेको छ । पाँच वर्षअघि, २०७७ पुससम्म बैंक तथा वित्तीय संस्थामा खोलिएका बचत खाता २ करोड ५० लाख थियो । गत पुसमा भने यस्तो खाता ५ करोड १० लाख पुगेको छ, जुन जनसंख्याको १८८ प्रतिशत हो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा खोलिएका बचत खाता यसमा समावेश छन् ।

बचत खाता निक्षेप खाताको एउटा महत्वपूर्ण प्रकार हो । आयलाई बचतमा प्रोत्साहनका लागि थोरै रकमबाट पनि खोल्न सकिने बैंक खातालाई बचत खाता भनिन्छ । यस्तो खाताको मुख्य उद्देश्य निम्न तथा मध्यम वर्गका मानिसमा बचतको बानी बसाल्नु हो । सानो सानो रकम बचत र आवश्यक पर्दा निकालिरहनु पर्नेहरूका लागि यो खाता बढी उपयोगी हुन्छ । यसले अधिक खर्चबाट जोगिन समेत सघाउ पुग्छ । बचत खाताबाट निशुल्क रकम जम्मा गर्न र झिक्न पाइन्छ । तर निकासीको संख्या र रकमको सीमा भने तोेकिएको हुन्छ । विभिन्न भुक्तानीका लागि प्रयोग गर्न सकिने यो खातामा रहेको मौज्दातमा ब्याज समेत पाइन्छ । व्यक्तिगत र संस्थागत रूपमा पनि खोल्न सकिने बचत जनसंख्याभन्दा खुल्नुमा एकै व्यक्तिको एकभन्दा बढी खाता हुनु प्रमुख कारण हो ।

हाल मुलुकका सबै स्थानीय तहमा वाणिज्य बैंकका समेत शाखा पुगिसकेका छन् । बैंकिङ पहुँचसँगै बचत खाता बढ्नु सकारात्मक हो । तर त्योभन्दा महत्वपूर्ण विषय भने त्यसबाट नागरिकमा बचत गर्ने बानीको विकास र वित्तीय लाभ हो ।
नेपालमा छोटो समयमै बचत खाता धेरैले बढे पनि सक्रिय बचत खाताको अनुपात भने बढ्न सकेको छैन । बरु पाँच वर्षअघिको भन्दा घटेको छ । गत पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा खोलिएका कुल बचत खातामध्ये ७१ प्रतिशत अर्थात् ३ करोड ६० लाख मात्र सक्रिय छन् । २०७७ पुसमा ७२ प्रतिशत बचत खाता सक्रिय थिए । २०७८ पुसमा ७५ प्रतिशतसम्म पुगेको सक्रिय बचत खाता त्यसपछिका वर्षमा पुनः घटेको देखिन्छ ।

यता, शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा भने सक्रिय बचत खाताको अनुपात बढी छ । गत पुससम्ममा महानगर क्षेत्रमा खोलिएका बचत खातामध्ये ६७ प्रतिशत, उपमहानगर क्षेत्रमा ६६ प्रतिशत र नगर क्षेत्रमा ७२ प्रतिशत सक्रिय छन् । गाउँपालिका क्षेत्रमा भने सक्रिय खाता ८२ प्रतिशत रहेको छ ।

यस्तै बचत तथा समग्र बैंक खाताको पहुँच राम्रो भए पनि कर्जा खाता भने निक्षेप खाताको ३ दशमलव ३२ प्रतिशत मात्र रहेको छ । गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामा १९ लाख २५ हजार हजार कर्जा खाता खुलेका छन्, जुन नेपालको कुल जनसंख्याको ७ प्रतिशत हो ।

गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामा कायम कुल बचत खातामध्ये महानगर क्षेत्रमा १ करोड ४५ लाख २८ हजार खाता खोलिएका छन् । यस्तै उपमहानगर क्षेत्रमा ५४ लाख ६१ हजार र नगर क्षेत्रमा २ करोड ४१ लाख ६४ हजार बचत खाता खोलिएका छन् । गाउँपालिका क्षेत्रमा खोलिएका बचत खाता भने ६५ लाख १७ हजार रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस