कृषिमा भविष्य खोजिरहेकी विन्दु, जसले पाएकी छिन् छिमेक लघुवित्तको साथ (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२७ वैशाख २०८२
कृषिमा भविष्य खोजिरहेकी विन्दु, जसले पाएकी छिन् छिमेक लघुवित्तको साथ (भिडियो रिपोर्ट)

काठमाडौं, २७ वैशाख ।

तराईको समथर भूभाग, शिशिरको बिहानी घामले विस्तारै गर्मीको संकेत गर्दै छ । स्वच्छ, नीलो आकाशमा चराहरू उडिरहेका छन् । शायद तल जमीनमा कलात्मक चित्र झैं देखिने बालीको मनोरम दृश्य र फलहरूको मीठो सुगन्धले प्रसन्न हुँदा हुन् । तर आज चराहरू मात्र होइन, उनी पनि प्रसन्न छिन् । उनी अर्थात् नवलपुरको कावासोती–१७, गार्सोतेकी विन्दुकुमारी महतो । व्यावसायक मेवाखेती, तरकारी खेती र तयारी कपडा पसल एकसाथ सञ्चालन गरिरहेकी महतो अहिले यस क्षेत्रमा सफल महिला उद्यमीका रूपमा परिचित छिन् ।

उद्यमशील यात्राका एकपछि अर्को सिँढी चढिरहँदा बिन्दु पुराना दिन ती बिर्सन्नन् । किनकि यो अवस्थामा आइपुग्न उनले देखेको सपना र त्यसलाई पूरा गर्न गरेको संघर्ष सानो छैन ।

सानै उमेरमा विवाह, घरधन्दामै सीमित दैनिकी, त्यसमाथि आर्थिक अभाव । बिरामी पर्दा अस्पताल जाने पैसा समेत हुँदैनथ्यो, घर खर्चको जोहो गर्न हम्मे हम्मे पथ्र्यो । ऋण खोज्दा पाइन्नथ्यो । बाहिर निस्केर पैसा कमाउने कल्पना समेत नगरेकी उनको अवस्था एउटा प्रश्नले बदलिदियो ।

विन्दुले गाउँका दिदीबहिनीहरू ड्रेस लगाएर हिँडेको याद गरेकी थिइन् । एकदिन सोधिन्, ‘यसरी तपाईंहरू कहाँ जानुहुन्छ ?’ उनीहरू छिमेक लघुवित्तको समूहमा बसेको र समूहमा बसेर बचत गर्न तथा सहजै ऋण पाइने थाहा पाइन् । (लघुवित्तको ड्रेस)

भनिन्छ, अवसरलाई चिन्न सक्नेहरू नै सफल हुन्छन् । हिम्मत र परिश्रमले असम्भवलाई पनि सम्भव बनाउँछ । विन्दुलाई आयआर्जनका लागि आफ्नै केही गर्नुपर्छ भन्ने सोच थियो, तर बाटो प्रस्ट थिएन । भनिन्छ नि– सोच–विचार गर्नु आधा काम हुनु बराबर हो । उनको जीवनमा पनि त्यही भयो । ‘म पनि छिमेक लघुवित्तको सदस्य बन्न सक्छु ? भन्ने प्रश्नले उनको जीवनको नयाँ ढोका खोल्यो ।

बिन्दुले पाँचजना साथीहरूसँग मिलेर छिमेक लघुवित्त वित्तीय संस्थाबाट सातदिने तालिम लिइन् । यस लघुवित्तबाट पहिलोपटक तीन हजार कर्जा पाइन् । त्यो पैसाले टेलिफोन किनिन् र सानो सटर भाडामा लिएर फोनसेवा शुरू गरिन् । यसबाट मुनाफा हुन थाल्यो । दोस्रोपटक ऋण लिएर केही कस्मेटिक सामान थपिन् । पसलबाट भएको नाफा र थप कर्जा लिँदै पसललाई ठूलो बनाउँदै लगिन् । शुरू शुरूमा ऋण लिन डर लागे पनि व्यवसाय राम्रो हुँदै गएपछि समयमै किस्ता बुझाउँदै गइन् । व्यवसायमा उनलाई श्रीमान् र परिवारको पनि साथ, सहयोग र हौसला मिल्यो । छिमेक लघुवित्तले ऋणको सदुपयोग गर्ने ज्ञान पनि दियो । व्यवसाय विविधीकरण गर्दै मेवा र तरकारी खेती गरिरहेकी उनी आफू मात्र होइन, गाउँका अन्य महिलालाई आंशिक रोजगारी दिन समेत सफल छिन् ।

बिन्दु २०६३ सालदेखि छिमेक लघुवित्तसँग जोडिएकी हुन् । आफूले एकभन्दा बढी व्यवसाय गर्न सक्नुमा यस लघुवित्तको कर्जा नै प्रमुख कारण रहेको उनी बताउँछिन् । हुन पनि उनले अन्यत्र ऋण माग्नुपरेको भए पाउन गाह्रो हुने र पाए पनि ब्याज महँगो पथ्र्यो । तर छिमेक लघुवित्तको सदस्य भएयता उनलाई त्यो चिन्ता छैन ।

विन्दुले साढे ४ बिगाहामा खेती गर्दै आएकी छन् । ३ बिगाहामा मेवाखेती छ, डेढ बिगाहामा तरकारीखेती । उनले रेड लेडी प्रजातिको मेवा लगाएकी छिन् । मेवाखेतीबाट दस महिनासम्म फल लिन सकिने उनी सुनाउँछिन् । यस्तै २२ कठ्ठामा फर्सी लगाएकी छन् । कुन खेतीबाट कस्तो आम्दानी हुन्छ भन्ने थाहा पाएकी उनी बढी मुनाफा लिन सिजन अनुसार नयाँ नयाँ तरकारी लगाउँछिन्, जसबाट अरू कृषकले पनि सिक्ने गरेका छन् ।

मेवा तथा तरकारी खेतीबाट विन्दु र उनको परिवार सन्तुष्ट छन् । पहिले सटर भाडामा लिएर शुरू गरेको पसल अहिले आफ्नै घरमा छ । घरपरिवारको साथ, छिमेक लघुवित्तको कर्जा र वित्तीय सचेतनाले उनलाई यो सफलता मिलेको हो । कर्जालाई सही ठाउँमा लगाए आफू र परिवारको आर्थिक स्तर उकास्न सकिने उनको भनुभव छ ।

यसरी परिवारको विपन्नताले विन्दुलाई उद्यमी बन्न प्रेरित ग¥यो । निम्न वर्गीय परिवारबाट अघि बढेर आज उनी उद्यम व्यवसायको जुन स्थानमा छिन्, धेरैका लागि यो प्रेरणा र सिकाइ बन्न सक्छ । व्यवसायमा महिलालाई विश्वास गरि नहाल्ने साँघुरो सोच र घरधन्दाको चौघेरा नाघेर आयआर्जनका कर्ममा लाग्न बिन्दुकुमारी अनुकरणीय महिला उद्यमी हुन् ।

व्यवसायले उनलाई आत्मनिर्भर बनाएको मात्र छैन, सामाजिक प्रतिष्ठा समेत बढाएको छ । जीवनमा आइपरेका समस्याबाट भाग्ने होइन, डटेर सामना गर्ने स्वभाव भएकी उनको व्यावसायिक पाइलाले सफलताको उचाइ छोओस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस