आइपिओ पाइपलाइनमा रहेकामध्ये ४८ प्रतिशत हाइड्रोपावर

अनलाइनसमय |
२७ वैशाख २०८२
आइपिओ पाइपलाइनमा रहेकामध्ये ४८ प्रतिशत हाइड्रोपावर

काठमाडौं, २७ वैशाख । नेपाली पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) लामो समयदेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को तथ्याङ्क अनुसार हाल विभिन्न क्षेत्रका ८९ कम्पनीको आइपिओ पाइपलाइनमा छन् ।

ती कम्पनीहरूको ५६ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता निष्कासनको प्रक्रियामा छन् । यी कम्पनीहरूमध्ये सबै भन्दा धेरै हाइड्रोपावरको छ ।

तथ्याङ्क अनुसार हाल सेबोनको पाइपलाइनमा रहेका कुल कम्पनीको ४८ प्रतिशत अर्थात् ४३ ओटा हाइड्रोपावर रहेका छन् । यी हाइड्रोपावरको १९ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता शेयर आइपिओ पाइपलाइनमा छ ।

पाइपलाइनमा भएकामध्ये सबैभन्दा धेरै आइपिओ निष्काशनको प्रक्रियामा निउरी न्यादी पावर लिमिटेडको रहेको छ । यस हाइड्रोपावरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्काशन बोर्डको प्रक्रियामा छ । यो ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको हुन आउँछ । यस हाइड्रोपावरको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै दोस्रो धेरै आइपिओ निष्काशनको पाइपलाइनमा सोलु हाइड्रोपावर रहेको छ । हाइड्रोपावरको २ अर्ब मूल्य बराबरको २ करोड कित्ता शेयर निष्काशनको प्रक्रियामा छ । यस हाइड्रोपावरको आइपिओ निष्काशन तथा बिक्रि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । यूनिटेड मेवा खोला हाइड्रोपावरको १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता, मेवा डेभोलपर्सको १ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख, सानीगड हाइड्रोपावरको ८५ करोड ५० लाख मूल्यको ८५ लाख ५० हजार कित्ता र सुपरखुदि हाइड्रोपावरको ७५ करोड ९५ लाख मूल्यको ७५ लाख ९५ हजार कित्ता शेयर निष्काशनको प्रक्रियामा छ । यसछि पिपुल्स इनर्जी, लाफिङ बुद्ध पावर नेपाल, नम्बर हिमालय हाइड्रोपावर लगायतको क्रमशः आइपिओ सेबोनको पाइपलाइनमा छ ।

यता, सेबोन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)बीच पछिल्लो समय विवाद चुलिँदै गएको छ । सेबोनको पाइपलाइनमा रहेका हाइड्रोपावरहरूको प्रारम्भिक सार्वजजिक निष्काशन (आइपिओ) अनुमति प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेपछि यो विषय झन् चुलिएको हो ।

आयोगले बुधवार ललितपुरस्थित सेबोनको कार्यालयमै पुगेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो भने इप्पानका पदाधिकारीहरूबाट बयान लिएको छ । बिहीबार आयोगले इप्पानका अध्यक्ष गणेश कार्की र उपाध्यक्ष उत्तम भ्लोन लामासँग बयान लिएको बताइएको छ ।

इप्पानका केही पदाधिकारीहरूले बोर्डको स्वीकृति प्रक्रियामा बिचौलियामार्फत कमिसन मागिएको दाबी गरिएको थियो । ऊर्जा उद्यमीहरूमाथि आइपिओ प्रक्रिया सहज बनाउने नाममा अवैध रकम मागिएको खबर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस