मोबाइल बैंकिङ प्रयोगकर्ता तीन वर्षमा ५५.३९ प्रतिशतले बढे

अनलाइनसमय |
२८ वैशाख २०८२
मोबाइल बैंकिङ प्रयोगकर्ता तीन वर्षमा ५५.३९ प्रतिशतले बढे

काठमाडौं, २८ वैशाख । पछिल्लो समय भइरहेको प्रविधिको विकास र विस्तारको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा परेको छ । डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमैत्री सेवा सुविधामा जोड दिएका छन्, जसमध्ये एक हो मोबाइल बैंकिङ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को नौ महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार पुगेका छन्, जुन तीन वर्ष अघिको तुलनामा ५५ दशमलव ३९ प्रतिशतले बढी हो । आव २०७८/७९ को चैतसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ७३ लाख ८२ हजार मात्रै थिए, अर्थात् तीन वर्ष अवधिमै ९६ लाख ३० हजार यस्ता मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।

आव २०७८/७९ को चैतसम्ममा १ करोड ७३ लाख रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पछिल्लो आवको सोही अवधिसम्ममा २ करोड ४ लाख बढी प्रयोगकर्ता पुगेका थिए, जुन १७ दशमलव ५५ प्रतिशतले वृद्धि हो ।

गत आव २०८०/८१ मा आइपुग्दा २ करोड ४० लाख ५३ हजारले मोबाइल बैंकिङ प्रयोग गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आवको चैतसम्मको तुलनामा यो वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता १२ दशमलव ३० प्रतिशतले बढेका छन् ।

यस्तै चालू आवको नौ महिनासम्ममा इन्टरनेट बैंकिङ सेवा २१ लाख ७३ हजारभन्दा धेरै प्रयोगकर्तामा पुगिसकेको छ, जुन तीन वर्ष अघिको तुलनामा ३१ दशमलव ०६ प्रतिशतले बढी हो । आव २०७८/७९ मा १६ लाख ५८ हजार प्रयोगकर्तामा मात्रै इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।

आव २०७९/८० को चैतसम्ममा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता १७ लाख ९८ हजार पुगेका थिए भने २०८०/८१ मा यस्ता प्रयोगकर्ता १९ लाख ४ हजार पुगेको थियो । चालू आवको चैतसम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता १४ दशमलव १२ प्रतिशतले बढेका छन् ।

यस्तै आव २०७८/७९ को चैतसम्ममा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ४ लाख ४२ हजार रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा यस्तो प्रयोगकर्ता ३० प्रतिशतले बढेर १ करोड ३५ लाख ८९ हजार पुगिसकेको छ ।

चैतसम्ममा क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख १३ हजार २२३ र २ लाख ३६ हजार ५७४ पुगेको छ । सो अवधिमा ५ हजार २६२ एटिएम रहेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आवको चैतसम्ममा ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ५०६ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ८७ लाख ७४ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस