आधाभन्दा बढिले घट्यो यी वाणिज्य बैंकहरूको खुद नाफा

अनलाइनसमय |
२८ वैशाख २०८२
आधाभन्दा बढिले घट्यो यी वाणिज्य बैंकहरूको खुद नाफा

काठमाडौं, २८ वैशाख । चालू आर्थिक वर्ष (आव)को ९ महिनामा तीन वाणिज्य बैंकको खुद नाफा अधिक मात्रामा घटेको छ । २० ओटा वाणिज्य बैंकहरूमध्ये तीन बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा सबैभन्दा धेरै खुद नाफा घट्ने वाणिज्य बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले गत चैतसम्ममा १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनमा ९१ दशमलव ८१ प्रतिशत अर्थात् १ अर्ब ७५ करोड रुपैयाँले कमी हो । २०८० को चैतसम्ममा यस बैंकले १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

एनआईसी एशियापछि दोस्रो धेरै खुद नाफा घट्नेमा हिमालयन बैंक रहेको छ । बैंकको खुद नाफा गत आवको चैतसम्मको तुलनामा चालू आवको सोही ७४ दशमलव ३३ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड रुपैयाँ घटेको छ । गत आवको ९ महिनामा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले गत चैतसम्ममा ५० करोड रुपैयाँ मात्र कमाएको तथ्याङ्क छ ।

कुमारी बैंकको पनि खुद नाफा ५० प्रतिशतभन्दा धेरैले घटेको छ । बैंकको खुद नाफा गत आवको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ७२ दशमलव ८५ प्रतिशत अर्थात् ७६ करोड रुपैयाँले कमी हो । २०८० को चैतसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने गत चैतसम्ममा २८ करोड रुपैयाँमा सिमित रह्यो ।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालू आवको ९ महिनामा २० ओटा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ४० अर्ब ६८ करोड यस्तो नाफा थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस