काठमाडौं, २८ वैशाख । श्रीमानको हत्या आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा उनकी श्रीमती रेनुका राई पक्राउ परेकी हुन् । हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुकालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।