काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चैतमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आवको नौ महिनाको वित्तीय तथयाङ्क अनुसार धितोपत्र बजार पूँजीकरण गत वर्षको तैतको तुलनामा ३७ दशमलव ७७ प्रतिशतले बढेको देखाएको हो ।
गत आवको चैतसम्ममा बजार पुँजीकरण ३२ खर्ब १२ अर्ब १ करोड रहेको थियो । साथै चैतसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत आवको चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।
यसैगरी सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२ दशमलव ७ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव १ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैतसम्ममा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रहेको छ ।
आव २०८१÷८२ को नौ महिनामा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस शेयर, १५ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपेयाँ बराबरको अन्य शेयर गरी कुल ५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, ४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी कुल २८ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।