काठमाडौं, २९ वैशाख । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को ९ महिनामा मार्जिन प्रकृतिको ३४ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा चैतसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ३७ दशमलव ७७ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने चैतसम्म १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
चालू आवको ९ महिनामा मार्जिन प्रकृतिको कर्जामा ठूलो कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा १ करोड भन्दा बढी कर्जा लिने ५१ दशमलव ४ प्रतिशतले बढेको छ । यस्तो कर्जा आवको पहिलो महिना साउनमा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो भने चैतसम्म आइपुग्दा बढेर ८४ अर्ब ६९ करोड रुपैयाँ कायम भएको हो ।
त्यस्तै सो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिनेहरू १९ दशमलव ९४ प्रतिशतले बढेको छ । यसपछि २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू १५ दशमलव ४ प्रतिशत र २५ लाख भन्दा कम २५ लाख भन्दा कम कर्जा लिनेहरू ८ दशमलव ६ प्रतिशतले बढेको छ ।

चालू आवको साउनको मौद्रिक नीतिले शेयर धितो कर्जामा ५० लाखसम्मको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा कायम गरेको थियो । यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाबाट शेयर कर्जा प्रवाह हुन सहज भएको हो ।