काठमाडौं, ३० वैशाख । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको छ । पछिल्ला तीन वर्ष यता यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा प्रवाह लगातार बढिरहेको छ, जसले निजी क्षेत्रका उद्यमीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लगेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा ७८ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत असार मसान्तसम्ममको तुलनामा ९ दशमलव ५ प्रतिशतले वृद्धि हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जा ८ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ थियो । हाल यो कर्जा ८ खर्ब ९८ अर्ब १५ करोड कायम छ ।
यस्तो कर्जा उद्यमीहरुले नयाँ उद्योगकै लागि मात्र लिएका भने हुँदैनन्, सञ्चालन भइरहेका उद्योगमा थप लगानी विस्तार गर्न तथा आवश्यक उपकरणहरू खरिद गर्न बैंकबाट कर्जा लिएका हुन्छन् ।
चालू आवको नौ महिनामा उत्पादनमूलक क्षेत्रमा गएको कर्जा पछिल्लो तीन वर्ष अघिको तुलनामा ३४ दशमलव ६९ प्रतिशतले बढेको छ, जबकि २०७९/८० को चैतसम्ममा निजी क्षेत्रका उद्यमीहरुले बैंक तथा वित्त संस्थाबाट उत्पादनशिल क्षेत्रमा लगानी गर्न ५८ अर्ब ६३ करोड मात्रै कर्जा लिएका थिए । आव २०८०/८१ को नौ महिनामा यस्तो कर्जा ६६ अर्ब १९ करोड रुपैयाँ प्रवाह भएको थियो ।

यसैगरी उत्पादनमुलक क्षेत्रमध्ये चालू आवको चैतसम्ममा खाद्य उत्पादनतर्फ बैंक तथा वित्त संस्थाको लगानी १४६ दशमलव ६९ प्रतिशतले बढेको छ । गत वर्षको चैतसम्ममा खाद्य वस्तु उत्पादन गर्ने उद्योगमा लगानी गर्न उद्यमीले १३ अर्ब ९ करोड मात्र कर्जा लिएकोमा चालू आवको यसै अवधिमा ३२ अर्ब ३१ करोड रुपैयाँ बराबरको कर्जा लिइसकेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यो कर्जा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमुलक क्षेत्रमा गएको कर्जामध्ये सबैभन्दा धेरै हो ।
कुन क्षेत्रमा कति गयो कर्जा ? रू. दश लाखमा

स्रोत : नेपाल राष्ट्र बैंक