कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी स्थगित, भिसा नियमनका लागि कार्यदल गठन

अनलाइनसमय |
३० वैशाख २०८२
कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी स्थगित, भिसा नियमनका लागि कार्यदल गठन

काठमाडौं, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र(एनओसी) वितरण स्थगित गरेको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) शुरूदेखि नै रोजगारीमा बढि प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कार्यदल गठन गरिएको छ ।’

उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र (ल्इऋ) जारी गर्ने कार्य हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ ।

कोरियामा अन्डर ग्राजुयट अध्ययनका लागि विद्यार्थीहरू डी टु र डी फोर भिषामा जाने गर्छन् । डी टु भिसामा जानेहरू कोरिया पुगेपछि सीधै आफूले पढ्न चाहेको कलेज र कोर्षमा नामांकन गराउँछन् । तर, यसअघि अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै विभिन्न गुनासा आउने गरेका थिए । कोरियास्थित नेपाली दूतावासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

अध्ययनका लागि कोरिया जाने भनिए पनि विद्यार्थीले त्यहाँ गएर सुरुमा कोरियन भाषा पढ्नु पर्छ । उक्त भाषामा दक्ष भएपछि मात्रै उनीहरूले विश्वविद्यालय भर्ना हुन पाउँछन् तर विश्वविद्यालय भर्ना हुनुअघि तथा भर्ना भइसकेपछि पनि उनीहरूले रोजगारीलगायतका विषयमा कष्ट बेहोर्नुपरेको गुनासो आउने गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ वटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस