बैंक, वित्तबारे गुनासो छन् ? अनलाइनबाट कसरी दर्ता गर्ने ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
३ जेठ २०८२
बैंक, वित्तबारे गुनासो छन् ? अनलाइनबाट कसरी दर्ता गर्ने ? (भिडियो रिपोर्ट)

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण एवं गुनासो व्यवस्थापन गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएपछि गुनासो दर्ता वर्षेनि बढ्दै गएको छ । वित्तीय ग्राहकको गुनासो पछिल्लो दुई वर्षमै दुई गुणाले बढेको छ । २०७८ वैशाख २ गते यससम्बन्धी अनलाइन पोर्टल शुरू गरिएको थियो । यसले देशभरका वित्तीय ग्राहकलाई आफ्नो गुनासा सहज रूपमा दर्ता गर्न सघाउ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै पनि गुनासो भएमा गुनासो डट एनआरबी डट ओआरजी मा गएर दर्ता गर्न सकिन्छ । त्यसपछि गुनासोकर्तालाई गुनासो नं. इमेलमार्फत प्रदान गरिन्छ । सोही नम्बरबाट गुनासोकर्ताले आफ्नो गुनासोको स्थिति थाहा पाउन सक्छन् । गुनासोको अन्तिम जवाफ इमेलमार्फत प्रदान गरिन्छ । कर्जामा ब्याजदर तथा शुल्क बढी लिएको, कालोसूचीमा समावेश नगरेको, बैंक जमानतबापतको रकम भुक्तानी नभएको जस्ता विषयमा बढी गुनासो प्राप्त हुने गरेका छन्, जसमा लघुवित्तसँग सम्बन्धित गुनासो पनि छन् । यद्यपि ग्राहकका उचित गुनासा प्राथमिकताका साथ सम्बोधन गरिएको सम्बद्ध संस्थाको प्रतिक्रिया छ ।

ग्राहकको गुनासो सुनुवाइ गरी उचित व्यवस्थापनका लागि राष्ट्र बैंकमा गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा र सोअन्तर्गत वित्तीय ग्राहक संरक्षण इकाइ समेत छन् । उक्त इकाइ वा राष्ट्र बैंकलाई सम्बोधन गरी लिखित निवेदन, इमेल, टेलिफोन तथा स्वयम् उपस्थित भएर समेत गुनासा टिपाउन सकिन्छ ।

यस्तै लघुवित्त सेवासम्बन्धी गुनासो व्यवस्थापनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा अलग्गै गुनासो डेस्कको समेत व्यवस्था छ । गुनासो सुनुवाइ सहज बनाउन नेपाल राष्ट्र बैंक गत पुसमा लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ नै जारी गरेको छ, जसमा ग्राहक हित संरक्षणदेखि वित्तीय साक्षरता र सेवाको पारदर्शितामा पनि जोड दिइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा १ हजार ३२६ ओटा गुनासा दर्ता भएका थिए, जसमध्ये १ हजार ३१५ ओटा पछ्र्योट भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्ता गुनासो दोब्बरले बढेर २ हजार ९०३ ओटा पुग्यो, जसमध्ये २ हजार ६४६ ओटा पछ्र्योट भएका थिए । गत आर्थिक वर्षमा समेत यो ३७ प्रतिशतले बढेर ३ हजार ९७७ ओटा पुग्यो । तीमध्ये ३ हजार ४३० ओटा पछ्र्योट भएका छन् ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्टः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस