२ सय यात्रु बोकेको विमान बिनापाइलट उडेपछि…

अनलाइनसमय |
४ जेठ २०८२
२ सय यात्रु बोकेको विमान बिनापाइलट उडेपछि…

काठमाडौं, ४ जेठ । दुई सय जना यात्रु बोकेको विमान करिब १० मिनेटसम्म पाइलटबिनै आकाशमा उडेको तथ्य सार्वजनिक भएको छ । स्पेनका अनुसन्धानकर्ताले सार्वजनिक गरेको रिपोर्ट अनुसार जर्मनीबाट स्पेन जाँदै गरेको विमान १० मिनेटसम्म पाइलटबिनै आकाशमा उडेको हो ।

लुफ्थान्साको विमान जर्मनीको फ्रान्कफर्टबाट स्पेनको सेभिल्लातर्फ उडिरहेको थियो । गन्तव्य नजिकिँदै गर्दा क्याप्टेन शौचालय जान ककपिटबाट बाहिरिएका थिए । तर फर्किंदा उनले पाँच पटक सुरक्षा कोड हाल्दा पनि ढोका खुलेन । फ्लाइट एटेन्डेन्टले इन्टरकममार्फत भित्र सम्पर्क गर्न खोजिन्, तर भित्रबाट कुनै प्रतिक्रिया आएन ।

क्याप्टेन ककपिट बाहिर रहँदा भित्र रहेका ३८ वर्षीय को–पाइलट बेहोस भइसकेका रहेछन् । केही बेरपछि उनी होसमा आएपछि ढोका खोल्न सफल भए । तर यसबीचमा विमान करिब १० मिनेटसम्म कुनै पाइलटको नियन्त्रणबिनै उडिरहेको थियो ।

को–पाइलटका अनुहार फिक्का भएको, शरीरबाट पसिना बगिरहेका र असामान्य रूपमा हल्लिँदै गरेको अवस्थामा भेटिएको बताइएको छ । विमानमा सवार चिकित्सकले उनलाई तत्काल जाँच गरे । क्याप्टेनले तत्काल निर्णय लिँदै विमानलाई नजिकको म्याड्रिड विमानस्थलमा अवतरण गराए ।

स्पेनी अनुसन्धान रिपोर्ट अनुसार को–पाइलटको होस गुम्नु स्नायुगत रोगको कारण भएको थियो, जुन न्यूरोलोजिकल डिसअर्डरका कारण कहिलेकाहीं अकस्मात हुन सक्छ ।

‘अनुसन्धानकर्ताहरूले युरोपेली युनियनको उड्डयन सुरक्षा निकायलाई यो घटना सबै एयरलाइन्समा जानकारी गराएरका छन् । एक पाइलट मात्र ककपिटमा हुँदा हुने जोखिमको पुनः मूल्यांकन गर्न सुझाव दिएका छन्,’ बिजनेस इन्साइडले लेखेको छ ।

यसबारेमा लुफ्थान्साले कुनै प्रतिक्रिया दिएका छैनन् । याहू न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस