उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने : आईजीपी दिपक थापा

अनलाइनसमय |
४ जेठ २०८२
उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने : आईजीपी दिपक थापा

काठमाडौं, ४ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूलेउच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै उनले नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक थापाले निर्देशन सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आईजीपी थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिए । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उनले निर्देशन दिए ।

यसैगरी, आईजीपी थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनले बताए ।

चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

आईजीपी थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस