काठमाडौं, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन मन्त्री विजय कुमारले मिति २०७८ असार ६ गते निर्णय गरी माछापोखरी (भरत ताल) निर्माणको नाममा अनुदान उपलब्ध गराउन समझदारी पत्रमा आफैँले एकल रुपमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत (राप्र तृतीय श्रेणी)सँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गरे गराएको तथा कानुन अधिकृतको रायबमोजिम भनी मन्त्रिपरिषद्मा पेस नगरी ३० करोड अनुदान दिने निर्णय गरेको देखिएकोले उनीसहित ८ जनाविरुद्ध आरोप पत्र दायर गरिएको हो ।
आरोपपत्र दायर गरिएकाहरुमा तत्कालीन मधेश प्रदेश सरकारका अर्थमन्त्री विजय कुमार, बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगरप्रमुख (हाल निलम्बित) भरत कुमार थापा, तत्कालीन नगर उपप्रमुख (हाल निलम्बित) लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल निलम्बित) विमल कुमार पोखरेल रहेका छन् ।
तयसैगरी मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, बागमती नगरपालिका सर्लाहीका तत्कालीन इन्जिनियर निरञ्जन लामिछाने, सोही नगरपालिकाका तत्कालीन इन्जिनियर (हाल निलम्बित) सागर पौडेल र तत्कालीन लेखा अधिकृत (हाल निलम्बित) विश्वराज पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कसुर तथा सजायको मागदाबी गरेको छ । उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।