४५ अर्ब घट्यो सार्वजनिक ऋण, अब तिर्न बाँकी कति ?

अनलाइनसमय |
५ जेठ २०८२
४५ अर्ब घट्यो सार्वजनिक ऋण, अब तिर्न बाँकी कति ?

काठमाडौं, ५ जेठ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँ घटाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव)को वैशाख मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यसअघि चैत मसान्तसम्ममा २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ थियो । मुलुकको सार्वजनिक ऋण १ महिनाको अवधिमा ४४ अर्ब ८६ करोड रुपैयाँले घटेको हो । चालू आवको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । त्यसयताको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ ऋण थपिएको तथ्यांकले देखाएको छ ।

सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा वैशाखसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशालव ६९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ प्रतिशत छ । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव ९४ प्रतिशत हो ।

चालू आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७१ दशमलव ४५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । जसमध्ये आन्तरिक ऋण प्राप्ति ९१ दशमलव २५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१ दशमलव ३३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस