प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

अनलाइनसमय |
५ जेठ २०८२
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं, ५ जेठ । जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

यसअघि संसदमा पेस भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो ।

छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोत ऐन, २०४९ को कार्यान्वयनका क्रममा देखा परेका समस्या, चुनौती र अवसरलाई समेट्दै तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी नयाँ विधेयक तयार गरिएको उनले बताए ।

यस्तै उनले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबी गरे ।

विधेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस