काठमाडौं, ७ वैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैका कारण अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने बादल रहेको विभागले जनाएको छ । ती स्थानमा अहिले मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको पानी परिरहेको छ । उक्त पानी पार्ने प्रणाली पूर्वतिर सरिरहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राती कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।