काठमाडौं, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको थियो ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।