काठमाडौं, ९ जेठ । वैदेशिक व्यापारका लागि हाल नेपालमा २९ ओटा नाका प्रयोगमा छन् । तीमध्ये अधिकांश नाकाबाट आयात मात्र हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा १८ ओटा नाकाबाट मात्र आयात–निर्यात हुन्छ । तर बाँकी ११ ओटा नाकाबाट कुनै पनि सामान विदेश गएको छैन, अर्थात् निर्यात शून्य छ ।
विभागका अनुसार चालू आवको साउनदेखि वैशाखसम्ममा तातोपानी, सुथौली, सुनसरी, जनकपुर, चोभार, महेशपउर, राजविराज, गौतमबुद्ध विमानस्थल, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । जबकी यी नाकाबाट आयात भने ठूलै परिमाणमा गरिन्छ । शून्य निर्यात भएका नाकामध्ये सबैभन्दा धेरै आयात तातोपानी नाकाबाट भएको छ । गत वैशाखसम्ममा यो नाकाबाट ४० अर्ब २० करोड १३ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको देखिन्छ ।
चालू आवको दश महिनामा २९ नाकामध्ये १८ ओटाबाट मात्र वस्तु निकासी भएको भन्सारको तथ्याङ्क छ । सो अवधिमा सबैभन्दा धेरै निकासी विरगञ्जबाट भएको छ । यो नाकाबाट ७९ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु बाहिरिएको छ । यसैगरी विराटनगरबाट ५६ अर्ब ६२ करोड, त्रिभुवन विमानस्थलबाट २९ अर्ब २३ करोड, मेचीबाट २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने भैरहवाबाट १६ अर्ब ४४ करोड र सुक्खा बन्दरगाहबाट ४ अर्ब २३ करोड रुपैयाँको बाहिरिएको हो ।

भन्सार विभागका अनुसार आवको साउनदेखि वैशाखसम्ममा सबै नाकाबाट आयात भएको देखिन्छ । सो अवधिमा सबैभन्दा धेरै आयात विरगञ्जबाट नै भएको छ । यस नाकाबाट ५ खर्ब ६ अर्ब ४ करोड रुपैयाँको वस्तु भित्रिएको छ । यसैगरी भैरहवाबाट २ खर्ब १६ अर्ब ४७ करोड, सुक्खा बन्दरगाहबाट १ खर्ब ८५ अर्ब ९५ करोड, विराटनगरबाट १ खर्ब ६९ अर्ब ७५ करोडको आयात हुँदा त्रिभुवन विमानस्थलबाट १ खर्ब १९ अर्ब ९७ करोड र रसुवाबाट ६८ अर्ब ५९ करोड रुपैयाँको भित्रिएको तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार वैशाखसम्ममा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १८ दशमलव ३७ प्रतिशत बढी हो । गत आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँको व्यापार भएको थियो ।

आवको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ११ प्रतिशत धेरै हो । सो आवमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको भित्रिएको थियो । यसैगरी निर्यात ७२ दशमलव ७१ प्रतिशतले बढेको छ । गत आवको वैशाखसम्ममा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको भएको छ ।