काठमाडौं, ९ जेठ । चालू आर्थिक वर्ष (आव)को दश महिनामा यार्सागुम्बाको निकासी करिब दुई गुणाले घटेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत वैशाखसम्ममा २१ करोड १८ लाख रुपैयाँको चार सय ९९ किलोग्राम (केजी) यार्सागुम्बा बाहिरिएको छ, जुन मूल्यका आधारमा गत आवको यसै अवधिको तुलनामा करिब दुई गुणाले कमी हो । २०८०/८१ को १० महिनामा ६२ अर्ब ६३ करोड रुपैयाँ बराबरको एक हजार २२८ केजी यार्सागुम्बा निकासी भएको छ । यद्यपि परिमाणका हिसाबले पनि ह्रास आएको छ ।
गत वैशाख मसान्तसम्ममा यार्सागुम्बा सबैभन्दा धेरै निर्यात हङकङमा भएको छ । यहाँ ११ करोड २१ लाख रुपैयाँको निर्यात भएको तथ्याङ्क छ । सो अवधिमा चीनमा ३ करोड ८४ लाख, सिङ्गापुरमा १ करोड ८८ लाख, कम्बोडियामा १ करोड १३ लाख, भेतनाममा १ करोड ६ लाख र अमेरिकामा १ करोड १ लाख रुपैयाँ बराबरको निकासी भएको छ ।
यसैगरी बेलायतमा ५९ लाख, मलेसियामा ३९ लाख, जापानमा ४ लाख तथा थाइल्याण्डमा ६ हजार रुपैयाँको यार्सागुम्बा बाहिरिएको देखिन्छ ।