अध्ययनले भन्यो– घण्टौं बसिरहनेलाई मस्तिष्क सुक्ने खतरा

अनलाइनसमय |
१० जेठ २०८२
अध्ययनले भन्यो– घण्टौं बसिरहनेलाई मस्तिष्क सुक्ने खतरा

सुनिता सुवेदी,

काठमाडौं, १० वैशाख । लामो समयसम्म बसिरहने बानीले हाम्रो दिमागलाई असर पार्ने अनुसन्धानले देखाएको छ । दैनिक रूपमा व्यायाम गर्ने मानिसहरूमा पनि यदि उनीहरू दिनको धेरै समय बसिरहन्छन् भने मस्तिष्क सुक्ने खतरा रहने अनुसन्धानले निषकर्ष निकालेको छ ।

अध्ययनका अनुसार दिनमा औसत १३ घण्टा बस्ने मानिसहरूको मस्तिष्कमा ‘ग्रे म्याटर’ कम हुने पाइएको छ । ग्रे म्याटर हाम्रो सोच्ने, सम्झने र निर्णय लिने क्षमतासँग सम्बन्धित हुन्छ । यो अध्ययन अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयले गरेको हो, जुन ‘अल्जाइमर्स एन्ड डिमेन्सिया’ जर्नलमा प्रकाशित गरिएको छ ।

विशेषगरी अल्जाइमर रोग लाग्ने सम्भावना हुने एपीओई जीन (दिमागसँग सम्बन्धित जोखिमको जीन) बोकेका व्यक्तिमा अझ धेरै असर देखिएको छ । लामो समय बसिरहँदा उनीहरूको स्मरणशक्ति र सोच्ने क्षमतामा समेत ह्रास आएको अध्ययनले पत्ता लगाएको छ ।

अहिलेको पुस्ताले शारीरिक श्रमभन्दा मानसिक श्रम बढी गर्छ । हामी पढाइ वा कामका लागि कम्प्युटर अगाडि घण्टौँ बस्ने तथा समय बिताउने नाममा गेम खेल्ने र ओटीटी प्लेटफर्ममा सिरिज हेर्दै सोफामा घण्टौं बस्ने गर्छौं । यस्ता क्रियाकलाप लामो समयसम्म एकै ठाउँमा बसेर गरिरहेका हुन्छौं । यसरी घण्टौंसम्म बसिरहँदा स्वास्थ्यलाई नकारात्मक रूपमा मात्रै असर गर्दैन, हृदय रोग, मधुमेह र मोटोपना जस्ता समस्या बढ्ने जोखिम हुन्छ । साथै मांसपेशी कमजोरी, मेरुदण्डको तनाव र रक्तसञ्चारमा कमी जस्ता समस्या पनि निम्तन सक्छ, जसले दिमागको स्वास्थ्य र सोच्ने–सम्झने क्षमतामा असर पार्ने अध्ययनले देखाएको छ । अनुसन्धानले नियमित व्यायाम गर्नेहरूमा पनि लामो समयसम्म बस्दा मस्तिष्कको स्वास्थ्यमा पर्ने सम्भावित नकारात्मक प्रभावलाई प्रकाश पारेको छ ।

अनुसन्धानले के भन्छ ?

यो अनुसन्धान अमेरिकाको अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयको ‘मेमोरी एन्ड अल्जाइमर सेन्टर’ले गरेको हो । अनुसन्धान ‘अल्जाइमर्स एन्ड डिमेन्सिया’ जर्नलमा प्रकाशित भएको छ ।

यसमा ७ वर्षसम्म वृद्ध उमेरका व्यक्तिको जीवनशैलकिो अध्ययन गरिएको थियो, जसले उनीहरूको बस्ने समय, शारीरिक गतिविधि र दिमागको स्वास्थ्यबीचको सम्बन्ध जाँच गरेको थियो । जति व्यायाम गरे पनि दिनभर धेरै समयसम्म बसिरहनेहरूको दिमागको आकार घटेको अध्ययनमा पाइएको थियो ।

अध्ययनले भनेको छ, ‘केही व्यक्तिहरूले हप्तामा १५० मिनेटसम्म व्यायाम गरे पनि उनीहरूले दिनको औसत १३ घण्टा कुर्सी, सोफा, गाडी जस्ता ठाउँमा बस्ने गरेका थिए । यस्तो लामो समय बस्दा उनीहरूको दिमाग सुक्न थालेको पाइएको थियो ।’

अध्ययनका अनुसार एपीओई जीन भएका व्यक्तिमा अल्जाइमर रोग लाग्ने खतरा बढी हुन्छ । ती व्यक्तिमा निर्णय लिने र स्मरणशक्तिको अभिन्न अंग फ्रन्टल र प्यारिएटल लोब्स–क्षेत्रसहित महत्वपूर्ण मस्तिष्क क्षेत्रमा सोच्ने र सम्झने शक्ति कमजोर हुँदै गएको अध्ययनले देखाएको थियो । अध्ययनले भनेको छ, ‘एपीओई जीन भएका मानिसहरूलाई शब्द सम्झने, चिजहरू चिन्ने जस्ता काममा बढी समस्या देखियो ।’

 

लामो समयसम्म बस्दा के हुन्छ ?

अनुसन्धानले धेरै समयसम्म बसिरहनु दिमागका लागि हानिकारक हुने निष्कर्ष निकालेको छ । यस्तो बसाइले दिमागमा रगतको बहाव कम गरिदिन्छ, जसका कारण दिमागलाई चाहिने अक्सिजन र पोषक तत्व पर्याप्त मात्रामा पुग्दैन । यसले दिमागका कोशिकाहरू कमजोर बनाउँछ । साथै लामो समयसम्म निष्क्रिय बस्ने बानीले शरीर सुन्निने समस्या बढाउँछ । लामो समय बस्नु अल्जाइमर जस्ता रोगको जोखिम भएका मानिसका लागि झनै हानिकारक हुन्छ ।

अनुसन्धानमा सात वर्षसम्म रिस्ट् मोनिटर (हातको घडीजस्तो उपकरण) र एमआरआई स्क्यान प्रयोग गरेर वास्तविक समयको डेटा संकलन गरिएको थियो, जसले नियमित व्यायाम गरे पनि धेरै समय बसिरहँदा हुने नोक्सान पूरै हटाउन नसकिने देखाएको थियो । अध्ययनमा भनिएको छ, ‘दिनभर निष्क्रिय बस्ने व्यक्तिमा दिमाग चाँडै सुक्ने खतरा बढी देखिएको छ ।’

समाधान के ?

लामो समय बस्नुपर्ने भए हरेक एक–दुई घण्टामा उठेर हिँड्न, स्ट्रेच (शरीर तन्काउने) गर्न वा उभिएर काम गर्न विज्ञहरूले सुझाव दिएका छन् । उनीहरू भन्छन्, ‘जति व्यस्त भए पनि केही समयमै उठ्ने, हिँडडुल गर्ने वा थोरै समय उभिएर काम गर्ने बानी बसाल्नुपर्छ । फोनमा कुरा गर्दा उभिनु, इमेल हिँड्दै हेर्नुजस्ता स–साना कामले पनि फाइदा गर्छ ।’

अनुसन्धानले मस्तिष्क स्वास्थ्य बचाउन विशेषगरी वयस्क, वृद्ध र अल्जाइमरको आनुवंशिक जोखिममा रहेकाहरूले बस्ने समय घटाउनुपर्नेमा जोड दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस