काठमाडौँ, ११ जेठ । सरकारले डिजिटल घुमन्तेहरू (डिजिटल नोम्याड) का लागि एकीकृत नीति तर्जुमा गर्ने भएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले डिजिटल घुमन्ते (डिजिटल नोम्याड) लाई आकर्षित गर्न नयाँ नीति प्रस्ताव गरेको थियो ।
जसअनुसार अब डिजिटल घुमन्तेहरूलाई नेपालमा सीमित अवधिको लागि बसोबास गर्न, वैधानिक रूपमा काम गर्न, बैंक खाता खोल्न, गाडी किन्न र कर तिर्न सक्ने कानुनी र नीतिगत व्यवस्था निर्माण गरिनेछ ।
आयोगले शुक्रबार अर्थ मन्त्रालयलाई बझाएको प्रतिवेदनमा डिजिटल घुमन्तेहरूलाई उनीहरूको मासिक आम्दानी १५ सय अमेरिकी डलरभन्दा बढी वा बैंकमा २० हजार अमेरिकी डलरभन्दा बढी मौज्दात भएमा एक पटकमा ५ वर्षको म्याद भएको बहु–प्रवेश भिसा प्रदान गर्न भनिएको छ ।
यद्यपि, भिसाको अवधि पाँच वर्ष भए पनि एक पटकमा अधिकतम एक वर्षको आवासीय अनुमति दिने प्रस्ताव गरिएको छ ।
डिजिटल भिसा प्रवेशाज्ञावाहकलाई नेपालको वाणिज्य बैंकमा परिवत्र्य मुद्राको खाता खोल्न दिने,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘उक्त खातामा ५० हजार डलरभन्दा बढी भएमा बढी भए जतिको रकम जुनसुकै बेला पनि विदेशको बैंकमा ट्रान्सफर गर्न दिने । ५ वर्ष भिसा अवधि सकिएपछि भिसा नवीकरण नगराएमा बैंकमा मौज्दात बाँकी रहेको पुरै रकम लैजान दिने ।’
डिजिटल घुमन्ते १८३ दिन वा सोभन्दा बढी नेपालमा बसेको भए उसले यहाँ आर्जन गरेको आयमा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था गर्नुपर्ने, उनीहरूलाई नेपालमा आफ्नै नाममा सवारी साधन दर्ता गर्न र स्थायी आवास भएको मुलुकबाट प्राप्त सवारी चालक प्रमाणपत्रलाई मान्यता दिनु उचित हुने आयोगले भनेको छ ।
यो नीति एक वर्षभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउने सरकारको लक्ष्य छ । यस नीति निर्माणको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयलाई दिइएको छ । यसको अनुगमनको जीम्मा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाएको छ ।
डिजिटल घुमन्ते नीति भन्नाले तयस्तो कानुनी संरचना हो, जसले विदेशी नागरिकहरूलाई नेपालमा केही समय बसोबास गर्दै इन्टरनेटमार्फत वैदेशिक कम्पनी वा सेवाग्राहीका लागि स्वतन्त्र रूपमा काम गर्न अनुमति दिन्छ ।
यस नीतिले नेपालमा आउने डिजिटल घुमन्तेहरूलाई काम गर्ने, बसोबास गर्ने, सेवा उपयोग गर्ने तथा वैधानिक पहिचान पाउने व्यवस्थाको आधार तयार गर्नेछ । सरकारले डिजिटल घुमन्तेहरूको व्यवस्थापन गर्न आवश्यक कानुनी र प्राविधिक पूर्वाधार तयार गर्ने जनाएको छ । यो पहल नेपालको सेवा क्षेत्र विस्तार र वैदेशिक आम्दानी वृद्धिमा सहयोगी हुने विश्वास लिइएको छ ।
हाल विश्वमा करिब दुई दर्जन देशले डिजिटल नोम्याड भिसा कार्यक्रम शुरू गरेका छन् । सबैभन्दा पहिला सन् २०१९ मा इस्टोनियाले यस्तो भिसा प्रदान गर्न थालेको थियो । हाल पोर्चुगल, इस्टोनिया, थाइल्यान्ड, इन्डोनेसिया, स्पेन,संयुक्त अरब इमरेट्स (यूएई), मलेसियाजस्ता देशले डिजिटल नोम्याड भिसा लागू गरिसकेका छन् ।