ढुसीजन्य संक्रमणले बर्सेनि २५ लाख मानिसको मृत्यु

अनलाइनसमय |
११ जेठ २०८२
ढुसीजन्य संक्रमणले बर्सेनि २५ लाख मानिसको मृत्यु

काठमाडौं, ११ जेठ । ढुसी केवल चिसो स्थानमा उम्रिने फंगस मात्र होइन । अत्यन्तै शक्तिशाली र अनुकूलनशील जीव समेत हुन्, जो माटो, पानी, मलखाद, बोटबिरुवा र जंगलदेखि तपाईंको घरभित्रसम्म कतै पनि हुन सक्छ । तर तीमध्ये केही ढुसीहरू यस्ता छन्, जसले मानिसको फोक्सो र शरीरलाई सिधै निशाना बनाउँछन् । यी ढुसीहरू खासगरी शरीरको भित्री अंगहरूमा आक्रमण गरेर मानिसलाई ‘भित्रबाटै सडाउने’ खालका घातक रोगहरू निम्त्याउँछन् ।

विश्वको तापक्रम बढेसँगै ढुसीका कारण लाखौं मानिसको मृत्यु हुने गरेको पाइएको छ । एक अनुसन्धान अनुसार ढुसीजन्य संक्रमण (फङ्गल इन्फेक्सन)का कारण हरेक वर्ष करिब २५ लाख मानिसको मृत्यु हुने गरेको छ । अझै पूर्ण तथ्याङ्क नहुँदा यो संख्या अझ धेरै हुन सक्ने आशंका वैज्ञानिकहरूले गरेका छन् ।

बेलायतको म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकको एक टोलीले हालै सार्वजनिक गरेको एउटा अध्ययनमा कम्प्युटर मोडेलिङको आधारमा भविष्यमा ढुसीको फैलावट कस्तो हुने भन्ने अनुमान गरेका छन् । अध्ययन अनुसार ‘एस्परजिलस’ नामक ढुसी समूह जलवायु परिवर्तनसँगै विश्वका विभिन्न स्थानमा फैलिन सक्नेछ ।

एस्परजिलस ढुसी माटोमा स–साना तन्तुजस्तै आकारमा हुर्कन्छ । यी ढुसीले हावामा अत्यन्त स–साना कणहरू बनाउँछन्, जसलाई हामीले हरेक दिन नाकमार्फत साससँगै भित्र लिन्छौं । केही मानिसलाई कुनै असर देखिँदैन, किनकि शरीरको प्रतिरक्षा प्रणालीले यसलाई हटाइदिन्छ । तर जसको फोक्सो कमजोर (दम, सीओपीडी, क्यान्सरको उपचाररत), अङ्ग प्रत्यरोपण गरेका, कोभिड–१९ वा फ्लुबाट ग्रसित मानिसहरूमा यो ढुसी शरीरभित्रै बढ्न थाल्छ । ‘ढुसी शरीरभित्र बढ्न थाल्यो भने, यसले तपाईंलाई भित्रैदेखि खाँदै जान्छ,’ वैज्ञानिक नर्मन भान राइनले भने ।

‘एस्परजिलोसिस’ नामक ढुसी रोग निकै खतरनाक हुन्छ । यो रोग लागेका १० जनामध्ये २ देखि ४ जनासम्मको ज्यान जान सक्छ । अनुसन्धान अनुसार यो रोग समयमै पत्ता लगाउन डाक्टरले पनि सक्दैनन् । किनभने यसको लक्षण ज्वरो र खोकी-सामान्य रुघा–खोकी वा फ्लु जस्तै देखिन्छन् । त्यसैले धेरैजसो बिरामीमा अरू नै रोग सम्झिएर ढिला हुने गरेको पाइएको छ ।

अर्कोतिर धेरै ढुसीहरू अहिलेको औषधिले असर नपर्ने बनिसकेका छन् । वैज्ञानिकका अनुसार हाल विश्वमा चार प्रकारका मात्र एन्टिफङ्गल औषधिहरू उपलब्ध छन् ।

अध्ययनले देखाएको छ– जलवायु परिवर्तनका कारण ‘एस्परजिलस फ्लाभस’ नामक ढुसीको फैलावट १६ प्रतिशतले बढ्न सक्छ । यो प्रजाति तातो र आद्र्र वातावरण मन पराउने भएकाले उष्ण देशहरूबाट उत्तर (उत्तरी अमेरिका, उत्तरी चीन र रुस)तर्फ सर्न सक्छ ।

यस ढुसीले मानव फोक्सोमा गम्भीर संक्रमण गराउनुका साथै खाद्य सुरक्षामा पनि जोखिम पुर्‍याउँछ । यसले मकै, गहुँ, चामल, बदाम जस्ता अन्नबालीमा पनि संक्रमण गराउँछ । त्यसैले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई ‘गम्भीर जोखिम’ समूहमा राखेको छ ।

अर्कोतर्फ एस्परजिलस फ्लाभस ढुसीले खासगरी चिसो (समशीतोष्ण) मौसम मन पराउँछ । तर अहिले पृथ्वी तातिँदै गएको छ, जसको असर यस्तो ढुसीहरूमा पनि देखिन थालेको छ । अब यो ढुसी उत्तरतर्फ अर्थात् चिसो ठाउँ (उत्तर ध्रुव नजिकको क्षेत्र)मा समेत फैलिन सक्ने वैज्ञानिकहरू बताउँछन् । उनीहरूका अनुसार सन् २१०० सम्म आइपुग्दा यसको फैलावट झण्डै ७८ प्रतिशतले बढ्न सक्छ ।

पृथ्वीको केही भाग-जस्तै अफ्रिकाको उप–सहारा क्षेत्रमा उच्च गर्मी हुनेछ । जसले त्यहाँका ढुसीहरू नरहने स्थिति आउन सक्छ । ढुसीहरू केवल रोग फैलाउने मात्र होइनन् । ती प्राकृतिक वातावरणको महत्वपूर्ण हिस्सा समेत हुन् । माटोको गुणस्तर राम्रो बनाउन, बोटबिरुवा कुहाएर मल बन्न र जैविक चक्र चलाउन (मृत जीव सडाउने) ढुसीहरूको ठूलो भूमिका हुन्छ । यदि ती नै हराए भने माटो बाँझिन सक्छ, वनस्पति चक्र अस्तव्यस्त हुन सक्छ र वातावरणमा असन्तुलन आउन सक्छ ।

यद्यपि जलवायु तातिँदै जाँदा यी ढुसीहरूको मानव शरीरमा बाँच्ने क्षमता बढ्दै जान सक्छ । उच्च तापमानले ढुसीहरूलाई मानव शरीरजस्तो तातो वातावरणमा जिउन झन् सक्षम बनाइरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस