काठमाडौं, १२ जेठ । युक्रेनमा मस्कोको अहिलेसम्मकै ठूलो हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरेका छन् । आफू खुशी नभएको बताउँदै उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भन्दै आलोचना गरेका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसअघि अमेरिकाले पछिल्लो रूसी आक्रमणमा मौन रहँदा पुटिनलाई हौसला मिलेको टिप्पणी गरेका थिए । उनले रूसमाथि थप कडा दबाब र प्रतिबन्ध आवश्यक रहेको बताएका छन् ।
आइतबार राति युक्रेनमाथि भएको हवाई आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । रूसी सेनाले ३६७ ड्रोन र मिसाइल प्रहार गरेको थियो, जुन सन् २०२२ मा आक्रमण सुरु भएदेखि अहिलेसम्मको एकै रातमा सबैभन्दा धेरै हो ।
सोमबार बिहान पनि युक्रेनका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल हमलाबारे चेतावनी दिने साइरन बजिरहेका थिए ।
पूर्वी शहर खार्किभमा एक बच्चासहित तीन जना घाइते भएको मेयर इगोर तेरेक्होभले जानकारी दिए । दक्षिणी क्षेत्र जापोरिजियामा पनि दुई जना घाइते भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताएका छन्।
त्यस्तै रूसको राजधानी मस्कोतर्फ उडिरहेका दुई युक्रेनी ड्रोनलाई रूसको हवाई सुरक्षाले खसालेको मस्कोका मेयर सर्गेई सोब्यानिनले जानकारी दिए । बीबीसी