काठमाडौं, १२ जेठ । कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका– ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझा घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि शिवकुमार र सोनाम जलेर गम्भीर घाइते भएका थिए ।
जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो । सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।
दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।