काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए । लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत महतले बताए ।
यता आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भनेका छन्, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ ।