काठमाडौं, १२ जेठ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्ष पछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् ।
दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । १० वर्ष अवधिमा उनी चार वटा पार्टीमा संलग्न भए । त्यसपछि पुनः श्रेष्ठ माओवादीमा फर्किएका हुन् ।
माओवादी छाडेर श्रेष्ठले बाबुराम भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिएका थिए । २०७४ सालको निर्वाचनमा पराजयपछि उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग नयाँ शक्ति नेपालले एकता गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल गठन भएको थियो । त्यसपछि जसपाबाट फुटेर नेपाल समाजवादी पार्टीमै केन्द्रित र बाबुरामबाट फुटेर फेरि नेसपामा अनि महिन्द्रराय यादवसँग फुटेर अहिले माओवादीमा फर्किएका हुन् ।
सोमबार भएको दुई पार्टि एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने बताइएको छ ।
यस्तो छ पार्टी समायोजन सम्बन्धी निर्णयहरु:
(१) पार्टीको मार्गनिर्देशक सिद्वान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुनेछ ।
(२) पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ ।
(३) समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्वन गरिनेछ । तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।
(४) पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ । कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पंक्तिभित्र छलफल गर्न सकिने छ ।
(५) पार्टी समायोजनको नेतृत्व गर्नुभएका क. गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ ।
