अमेरिकाले विश्वभरका विद्यार्थी भिसा रोक्यो, नेपाली विद्यार्थी पनि प्रभावित

अनलाइनसमय |
१४ जेठ २०८२
अमेरिकाले विश्वभरका विद्यार्थी भिसा रोक्यो, नेपाली विद्यार्थी पनि प्रभावित

काठमाडौं, १४ जेठ । अमेरिकाले सामाजिक सन्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर विभागलाई विद्यार्थी भिसा (एफएम र जे) अन्तर्वार्ता अस्थायी रूपमा स्थगन गरेको छ ।

मंगलबार जारी गरिएको आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नयाँ अन्तर्वार्ता तालिका बनाउने कार्य तत्कालका लागि रोक्न निर्देशन दिएको न्यूयोर्क टाइम्समा उल्लेख छ । अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूमा उक्त निर्देशन पठाइएको छ ।

विदेश मन्त्रालयका एक अधिकारीले मंगलबार निर्णयको पुष्टि गर्दै भने, ‘विद्यार्थी तथा एक्सचेन्ज भिसाका आवेदकहरूको सामाजिक सञ्जाल गतिविधि थप गहिरो रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएकाले अन्तर्वार्ता प्रक्रिया केही समयका लागि रोकिएको हो ।’

हालको अवस्थामा नयाँ अन्तर्वार्ता समय तोकिने छैन । पहिले नै निर्धारित अन्तर्वार्ता भने जारी रहनेछन् ।

ट्रम्प प्रशासनले विगत केही समयदेखि विश्वविद्यालयहरूलाई लक्षित गर्दै आएको छ । उसले केही संस्थाहरूले यहूदी विरोधी भावना फैलाउन भूमिका खेलेको आरोप लगाएको छ । पछिल्लोपटक हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थीहरू राख्न नपाउने प्रस्ताव र संघीय एजेन्सीहरूलाई क्ष्खथ ीभबनगभ स्कुलहरूसँगको सम्झौता रद्द गर्न निर्देशन पनि दिइएको थियो ।

अमेरिकामा रहेका केही विदेशी विद्यार्थीहरूलाई आफ्नो सामाजिक सञ्जाल पोस्ट वा प्रोप्यालेस्टिनी धारणा व्यक्त गरेपछि पक्राउ गर्ने वा उनीहरूको कानुनी हैसियत खारेज गर्ने घटनाहरूसमेत सार्वजनिक भएका छन् । यस विषयमा कानुनी लडाइँ चलिरहेको भए तापनि प्रशासनले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गर्न लगातार प्रयास जारी राखेको छ ।

यो सँगै नेपालसहित विश्वभरका विद्यार्थी प्रभावित हुनेछन् । नेपालबाट मात्रै वर्षमा हजारौं विद्यार्थी अमेरिकामा उच्च शिक्षा अध्ययनको लागि जान्छन् । प्रत्येक वर्ष दश लाखभन्दा बढी विदेशी विद्यार्थीहरूले अमेरिकाका कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्छन् ।

अमेरिकामा उच्च शिक्षाका लागि जाने विद्यार्थीको संख्या बढ्दै गएको बेला आएको यो निर्णयले धेरैलाई अन्योलमा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस